भगवान शिवजीको बासस्थल जाने बाटो (फोटो फिचर)
कैलाश पर्वत पुग्न नसक्नेलाई नेपालबाटै दर्शन
शब्द तस्वीर- भरतबन्धु थापा/ छिरिङक्याप लामा
१० साउन, काठमाडौं । कैलाश पर्वतलाई भगवान शिवजीको वासस्थल मानिन्छ । कैलाश पर्वत नजिकै रहेको मानसरोवर हिन्दुहरुको पवित्र तीर्थस्थल पनि हो । तीन महिनाअघि एमाओवादी नेता डा. बाबुराम भट्टराईसमेत स-परिवार मानसरोवर गएका थिए ।
शिवभूमि कैलाशको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास रहेको छ । धार्मिक मात्रै नभएर पर्यटकीय हिसवाले पनि प्रख्यात रहेको कैलास पर्वत पदयात्राका लागि कठिन तर मनमोहक गन्तव्य हो ।
कैलाश पर्वत यात्राको मुख्य प्रवेशद्वारको रुपमा प्रख्यात रहेको छ हुम्लाको सिमिकोट । नेपालगञ्जदेखि सिमिकोटसम्म हवाइ यात्रापछि कैलाश पदयात्रा सुरु हुन्छ ।
सिमिकोटदेखि तीन दिनको पैदल यात्रापछि कैलास क्षेत्रको धार्मिकस्थलमा पुगिन्छ । तर, चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलास पर्वत यात्राका लागि भिसाको जटिलता रहेको गुनासो गर्छन् पर्यटन व्यवसायी । कुन समयमा चीनको नाका बन्द हुन्छ र कुन समयमा खुल्छ भन्ने निश्चित नभएका कारणले पनि कैलाश यात्रामा कठिनाइ पर्ने गरेको उनीहरुको गुनासो छ ।
भिसाको समस्या भएको अवस्थामा कैलाश पर्वतको दर्शन नेपालबाटै गर्न सकिने पर्यटन व्यवसायीको अनुभव छ । कैलाश जान नसक्नेहरुले तिब्बतको सीमानामा रहेको हुम्लाको लाप्चा स्यारबाटै कैलाशको दर्शन गर्ने गरेको बताउँछन् तिब्बत होली डेजका प्रबन्ध निर्देशक पेमा छिरिङ लामा ।
लामा भन्छन्-’कैलाश पर्वतका लागि प्रत्येक वर्ष भिसाको समस्या हुने गरेको छ, कुन सयमा भिसा दिन्छ, कुन समयमा बन्द हुन्छ ठेगान हुँदैन । त्यस्तो बेलामा कैलाश पर्वत दर्शनको विकल्पका रुपमा लाप्चा स्यारलाई सदुपयोग गर्न सके राम्रो हुन्छ ।’
हुम्लाको सदरमुकामबाट लिमी भ्याली हुँदै लाप्चा स्यार पुग्न ६ दिन लाग्छ । प्राकृतिक सुन्दरताका साथै स्थानीय जनजीवनको दृश्यावलोकनका लागि निकै उत्कृष्ट स्थानमध्ये एक हो लिमी भ्याली ।
कैलास नपुग्ने तर कैलाशको दर्शन गर्न सकिने रुटलाई ‘कैलाश पानोरमा यात्रा’ नामाकरण गरेका छन् पर्यटन ब्यवसायीले । यो रुट सिमिकोटबाट सुरु हुन्छ भने अन्तिम स्थान लाप्चा स्यारमा पुगेर टुंगिन्छ ।
लाप्चा स्यारसम्म पुग्न दुईवटा बाटा छन् । एउटा बाटो हिल्सा लिमी हुँदै ल्याक्पा स्यारसम्म जान्छ । अर्को ४९५० मिटरको न्यालो पास भएर लिमी हुँदै ल्याक्पा स्यार पुग्न सकिन्छ । सिमिकोटदेखि सो ठाउँमा पुगेर र्फकन तीन हप्ताको लाग्ने तिब्बत होलीडेका प्रबन्ध निर्देशक लामा बताउँछन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Ãâó:onlinekhabar.com |